अर्थोपार्जनमा संलग्न नेपालीको संख्या डेढ करोड, औद्योगिक उत्पादनमा ३.८ प्रतिशत मात्रै

नोटबजार संवाददाता
काठमाण्डौं ।
१०चैत्र, २०७९, शुक्रबार / Mar 24, 2023 15:17:pm

गत वर्षसम्म औद्योगीक उत्पादन मार्फत अर्थोपार्जन गर्ने नेपालीको संख्या सबैभन्दा न्यून रहेको छ । आन्तरिक उत्पादन भन्दा आयातित बस्तुहरुको लागत कम भएकाले औद्योगीक उत्पादनमा संलग्न भई अर्थोपार्जन गर्नेको संख्या न्यून भएको हो ।

पछिल्लो समयमा उच्च आयातका कारण समग्र अर्थतन्त्रमै समस्या देखियो । फलस्वरुप सरकारले सीमित बस्तुहरुको आयातमै नियन्त्रण गर्नु परेको थियो । आन्तरिक उत्पादन न्यून भएकाले आयात उच्च भएको थियो । त्यसका साथै आन्तरिक उत्पादनको लागत लागि भएकाले उत्पादित बस्तुहरुको मूल्य आयातितको तुलनामा महंगो हुँने गरेका छन । त्यसले गर्दा पनि आन्तरिक उत्पादनलाई नै प्रतिस्थापन गर्ने गरी आयात हुने गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका एक करोड ४९ लाख ८३ हजार जना आर्थिक काममा संलग्न रहेको पाइएको छ । उक्त संख्या मध्ये क्षेत्र अनुसार सबै भन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रको काममा सहभागी जनसंख्या ५७.३ प्रतिशत रहेको छ ।

साथै थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरुमा ३.९ प्रतिशत र औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न रहेको जनगणना प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय जनगणना अनुसार गणना सुरु भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरु कुल १ करोड ४९ लाख ८३ हजार ३ सय १० जना रहेका छन् । जसमध्ये सबैभन्दा धेरै ५५.३ प्रतिशतले आफ्नै काम गरेको पाइएको छ । त्यसैगरी अरुको काम गर्ने २८.६ प्रतिशत, परिवारमा सघाउने मात्र १४.५ प्रतिशत, रोजगारदाता १.४ प्रतिशत र उल्लेख नभएको संख्याको हिस्सा ०.१ प्रतिशत रहेका छन् ।

आर्थिक कामको संस्थागत क्षेत्र अनुसार सबैभन्दा बढी घरायसी क्षेत्रमा आर्थिक काम गरेका व्यक्तिहरु ६१.८ प्रतिशत, गैर वित्तीय संस्था ३२.७ प्रतिशत, सरकारी ३.९ प्रतिशत, वित्तीय संस्था १.१ प्रतिशत नाफा नकमाउने संस्था ०.४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेका छन् ।

दश वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिहरु मध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले आर्थिक काम नगरेको देखिन्छ ।

त्यसपछि अन्य कारणहरुमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, बृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत रहेको छ ।

आर्थिक रुपले सक्रिय जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ जना व्यक्तिहरु मध्ये एक करोड ५६ लाख ८९ हजार ७ सय ७७ जना (६५.५ प्रतिशत) आर्थिक रुपले सक्रिय र ८२ लाख ११ हजार १२ जना (३४.३ प्रतिशत) आर्थिक रुपले निष्क्रिय रहेका छन् । आर्थिक रुपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरुको संख्या ५८ हजार ७९ जना रहेको राष्ट्रिय तथ्यङक कार्यालयले जनाएको छ ।

अक्सर आर्थिकरुपले सक्रिय जनसंख्या मध्ये अक्सर आर्थिकरुपले सक्रिय व्यक्तिको संख्या एक करोड १० लाख ३८ हजार एक सय ५ रहेको छ । यो संख्या आर्थिक रुपमा सक्रिय कुल व्यक्तिको ७०.३५ प्रतिशत हो । त्यसैगरी अक्सर आर्थिक रुपले निष्क्रियको संख्या ४६ लाख ५१ हजार ६ सय ७२ जना रहेका छन । यो संख्या कुल आर्थिक सक्रिय संख्याको २९.६५ प्रतिशत हो ।

अक्सर आर्थिकरुपले सक्रिय एक करोड १० लाख ३८ हजार १०५ जना मध्ये एक करोड २ लाख ७० हजार ४४७ जनाले अक्सर रोजगार गर्ने र ७ लाख ६७ हजार ६५८ जना अक्सर बेरोजगार रहने गरेको कार्यालयले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments