भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ

नोटबजार संवाददाता
काठमाण्डौं ।
१३चैत्र, २०७९, सोमबार / Mar 27, 2023 14:41:pm

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. २३ घर भएका सानु भण्डारी, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१० घर भई हाल ललितपुर नगरपालिका वडा नं. २३ धापाखेल बस्ने केशव प्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका धापाखेल बस्ने टंक कुमार गुरूङ रहेका छन् ।

उनीहरुले २०७७ साल देखि अहिलेसम्म ८१ जना पीडितबाट करिब १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रहरी उपरीक्षक राठौरका अनुसार ठगी गर्ने कार्यमा संलग्नलाई अपराध महाशाखा हनुमानढोकाबाट खटिएको विशेष अनुसन्धान टोलीले ललितपुर धापाखेल एरियाबाट पक्राउ गरि मुलुकी अपराध संहिताको दफा २४९ बमोजिम आवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

पक्राउ परेका व्यक्तिहरुले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरि तिनका आफन्त र नातागोताका व्यक्तिहरु समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि फर्म भर्न लगाई प्रति व्यक्ति १५ देखि २० लाख असुल गरि ठगी गरेको पाइएको छ ।

उनीहरुले काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनि ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका ८ करोड बराबरको चेकहरु जाहेरवालाहरुलाई दिएको साथै लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाई पीडितहरुले आफ्नो पैसा फिर्ता गर भन्दा पीडकहरुले उल्टै ज्यान मार्ने सम्मको धम्की दिएको बताइएको छ ।

यस्तै पीडितहरुमध्ये १० जना भन्दा बढीको नाममा नेपाल सरकार गृह मन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरि शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनाएको पाइएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलका सदस्यहरुको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments