आन्तरिक ऋणपत्रमा विकास ऋणपत्रको हिस्सा ६५ प्रतिशत, ५२ अर्ब ब्याज भुक्तानी

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१७बैशाख, २०८१, सोमबार / Apr 29, 2024 18:23:pm

सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने वित्तीय औजार मध्ये विकास ऋणपत्रको हिस्सा आधा भन्दा धेरै रहेको छ । हाल सरकारको कुल आन्तरिक ऋण करिब १२ खर्बमा विकास ऋणपत्रको मात्रै ६५ प्रतिशत हिस्सा कायम भएको हो ।

सरकारले आन्तरिक ऋणका लागि ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाका साथै सर्वसाधारणबाट ऋण उठाउदै आएको छ । सरकारले ती चार वित्तीय औजार मार्फत लिएको ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋणको बक्यौता रहेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा सरकारले एक खर्ब ७६ अर्ब अन्तरिक ऋण थप गरेको छ । सरकारले लिएको आन्तरिक ऋण मात्रै कुल ग्राहस्थ उत्पादनको करिब २२ प्रतिशत हो ।

सरकारको कुल आन्तरिक ऋणपत्र मध्ये मध्ये ट्रेजरी बिल्स मार्फत ३ खर्ब ९८ अर्ब ६९ करोड, विकास ऋणपत्र मार्फत ७ अर्ब ६५ अर्ब ९४ करोड, नागरीक बचतपत्र मार्फत १० अर्ब ७५ करोड र बैदेशिक रोजगार बचतपत्र मार्फत १७ करोड ५४ लाख रुपैयाँ ऋणा लिएको छ । राजस्व संकलन तथा विदेशी अनुदान र ऋणले खर्च अपुग हुने भएपछि आन्तरिक ऋणको प्रयोग गर्छ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक ऋणपत्र लिने लक्ष्य लिएको थियो । सो मध्ये चैत सम्ममा सरकारले एक खर्ब ७६ अर्ब आन्तरिक ऋण परिचालन गरिसकेको छ ।

सरकारलाई आन्तरिक ऋण धेरै दिनेमा बाणिज्य बैंकहरु रहेका छन्। हालसम्ममा वाणिज्य बैंकहरुको कुल १० खर्ब १० अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यो कुल आन्तरिक कर्जाको ८५.९५ प्रतिशत हो । त्यसैगरी विकास बैंकहरुको ९४ अर्ब ८५ करोड, फाइनान्स कम्पनीको २१ अर्ब ८८ करोड, लघुवित्तहरुको ९० करोड, सामाजिक सुरक्षा कोषले ३ अर्ब ८२ करोड, बीमा कम्पनीहरुले ३ अर्ब ८१ करोड, सर्वसाधारण संग ५ अर्ब ३५ करोड, बजार निर्माताले एक अर्ब ६५ करोड, अन्य ९ अर्ब ५६ करोड लगानी रहेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले नै खरिद गरेको सरकारी ऋणपत्र २३ अर्ब २४ करोड रुपैयाँ बरावरको छ । सरकारलाई स्रोतको कमी भएको अवस्थामा आन्तरिक ऋण उठाउँदा बैंक तथा वित्तीय संस्थाबाट नपाए केन्द्रीय बैंक आफैले दिने गरेको छ ।

केन्द्रीय बैंकका अनुसार सरकारले चालु आर्थिक वर्षको चैतसम्ममा ब्याज र डिस्काउन्ट रेट गरेर कुल ५१ अर्ब ८३ करोड रुपैयाँ भुक्तानी दिएको छ । सरकारले चालु आवको ९ महिनामा ३० अर्ब २५ करोड ८७ लाख रुपैयाँ विकास ऋणपत्रको ब्याज भुक्तानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी २० अर्ब ७७ करोड रुपैयाँ ट्रेजरी बिल्सको डिस्काउन्ट रेट भुक्तानी गरेको छ । सो अवधिमा सरकारले नागरीक बचतपत्र मार्फत लिएको ऋणको ७९ करोड ९१ लाख रुपौयँ ब्याज भुक्तानी गरेको छ भने बैदशिक रोजगार बचतपत्रका लगानीकर्तालाई एक करोड २० लाख रुपैयाँ ब्याज भुक्तानी दिएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार सरकारले चालु आवको ९ महिनामा ३६ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्रको सावाँ भुक्तानी गरेको छ । त्यसैगरी ८९ अर्ब १२ करोड ३३ लाख रुपैयाँ ट्रेजरी बिल्स मार्फत लिएको रकम फिर्ता गरेको छ ।

चालु आवको ९ महिनामा सरकारले फिर्ता गरेको आन्तरिक ऋणको सावाँ चालु आवमा फिर्ता गर्नुपर्ने कुल ऋणपत्रको ३९.५१ प्रतिशत मात्र हो । चालु आवमा सरकारले भुक्तानी गर्नुपर्ने आन्तरिक ऋणको सावाँ ३ खर्ब १७ अर्ब ९३ करोड रुपैयाँ बरावर भुक्तानी गर्नुपर्नेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैतसम्मको कुल बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ तिर्न बाँकी छ । चालु आवको ९ महिनामा सरकार ३३ अर्ब ७४ करोड रुपैयाँ बराबरको बाह्य ऋण थप गरेको कार्यालयले जनाएको छ ।

सरकारको हालसम्मको कुल तिर्न बाँकी ऋण २३ अर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ बराबरको छ । यो ऋण कुल ग्राहस्थ उत्पादन ५१ अर्ब ८१ अर्बको करिब ४४ प्रतिशत हो । सरकारले राजस्व संकलन बढाउन नसक्दा आन्तरिक ऋण बढेको हो । अन्तराष्ट्रिय मान्यता अनुसार कुल ग्राहस्थ उत्पादनको ६० प्रतिशतसम्म सार्वजनिक ऋणपत्र परिचालन गर्नुलाई नराम्रो मानिदैन ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments