निर्माण तथा ब्यापार क्षेत्रमा अझै सुधार आउने देखिएन, आर्थिक वृद्धि समेत प्रभावित

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१८बैशाख, २०८१, मंगलवार / Apr 30, 2024 18:57:pm

चालु आर्थिक वर्षमा निर्माण तथा ब्यापार क्षेत्रमा आएको संकटले समग्र आर्थिक वृद्धि नै प्रभावित भएको छ । कोरोना महामारी तथा आर्थिक मन्दीका कारण प्रभावित भएको निमार्ण तथा ब्यापार क्षेत्र शिथिल भएसंगै समग्र अर्थतन्त्र नै सुस्त भएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हासील गर्ने लक्ष्य लिएको छ । तर, राष्ट्रि तथ्याङक कार्यलयले भने उपभोक्ता मूल्यमा ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यसका लागि निर्माण तथा ब्यापार क्षेत्रमा आएको गिरावट प्रमूख कारण हो ।

चालु आवमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको भएपनि लक्ष्य अनुसारको राजस्व संकलन र पुँजीगत खर्च गर्न सकेन। त्यसका साथै सरकारी वित्तको अवसथा नै नकारात्मक हुन पुग्यो । अर्थतन्त्रमा आएको मन्दीका कारण सरकारले अपेक्षा गरे अनुसार राजस्व संकलन गर्न नसकेपछि खर्च पनि सोही अनुसार प्रभावित हुदाँ निर्माण क्षेत्रले गति लिन नसकेको हो ।

कोरोना महामारीबाट अर्थतन्त्रलाई उकास्न केन्द्रीय बैंकले लिएको नीतिले इजी मनि मेकिङ लाई प्रोत्साहन मिल्यो । त्यसले गर्दा घरजग्गा तथा सेयर बजारमा बबल आयो । अनुत्पादक क्षेत्रको लगानीले आयात उच्च दरमा बढायो । त्यसका साथै महंगी समेत दोहोरो अंकमसम्म पुग्यो । उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब सृजना गर्यो । अर्थतन्त्रको बाह्य क्षेत्रको दबाब कम गर्न केन्द्रीय बैंकले कसीलो नीति अबलम्बन गर्यो । त्यसका लागि केन्द्रीय बैंकले आयातकमा नियन्त्रण, ब्याजदर बढाउने, मनि सप्लाई कम गर्ने तथा कर्जा प्रबाहमा कडाइ गर्यो ।

केन्द्रीय बैंकले आन्तरिक उत्पादन बढाउने नीति अबलम्बन गर्दा अनुत्पादक क्षेत्रको लगानी खुम्चीन पुग्यो । त्यो संगै अन्तराष्ट्रिय अर्थतन्त्रमा आएको मन्दीको असरले समेत नेपाली अर्थतन्त्र प्रभावित हुदाँ निर्माण, उद्योग र ब्यापार क्षेत्र खुम्चिदै गयो । त्यसले अर्थतन्त्र झनै शिथिल बन्न पुग्यो । आयात नियन्त्रण गरेपछि सरकारले समेत खर्च गर्न नसक्ने अवस्था बनेपछि समग्र बजारमा माग मै कमी आउन थाल्यो ।

घरजग्गा तथा सेयर लगानीमा कडाई गरेसंगै निर्माण गतिविधिमा समेत असर गर्न थाल्यो । निर्माणका गतिविधि प्रभावित भएपछि औद्योगीक उत्पादन समेत प्रभावित भयो । ती क्षेत्रमा परेको असर अझै पनि सुधार आउन नसकेको तथ्याङक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कुल ग्राहस्थ उत्पादनमा निर्माण क्षेत्रको ५.४१, व्यापारको १३.८४, रियल स्टेटको ८.३३ प्रतिशत योगदना रहेको छ । चालु आवमा यी तीनै क्षेत्र अत्याधिक प्रभावित भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा निर्माण क्षेत्रमा कुल मूल्य अभिवृद्धि वृद्धिदर २.०७ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ । निर्माण सामाग्रीको आयातमा आएको कमी, निर्माण सामाग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान कार्यलयको रहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १.१० प्रतिशतले ऋणात्मक रहने कार्यालयको संशोधित अनुमान छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार यस क्षेत्रको वृद्धिदर ६.९३ प्रतिशत कायम भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी सो अवधिमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ०.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यलयको छ । चालु आर्थिक वर्षमा व्यापारजन्य वस्तुको आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले यस क्षेत्रको मूल्य अभिवृद्धि नगण्य रूपमा मात्र वृद्धि हुने अनुमान गरिएको हो । गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर –३.०२ प्रतिशत ऋणात्मक रहने संशोधित अनुमान छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.४२ प्रतिशत कायम गरिएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १.६ प्रतिशत ऋणात्मक हुने प्रारम्भिक अनुमान कार्यालयको छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको कार्यलयले जनाएको छ ।

साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १.९८ ऋणात्मक रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत कायम गरिएको छ ।

आर्थिक गतिविधिमा आएको सुस्तताका बावजुद पनि चालु आवमा अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ । त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरेको कार्यालयले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments