राष्ट्र बैंकले ६६ अर्ब तरलता खिचेपछि निक्षेप संकलनको ब्याजदर यो वर्षकै उच्च

Note Bazar १९माघ, २०८०, शुक्रबार / Feb 02, 2024 15:59:pm

निक्षेप संकलन उपकरणको ब्याजदर यो बर्षकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट पछिल्ला ३ दिनमा ६६ अर्ब रुपैयाँ तरलता खिचेपछि बैंक तथा वित्तीय संस्थाबाट केन्द्रीय बैंकले लिने निक्षेपको ब्याजदर बढेको हो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गरी अन्तर बैंक ब्याजदरलाई स्थिर राख्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भएपनि केन्द्रीय बैंकले निरन्तर तीन दिन निक्षेप संकलन उपकरण प्रयोग गर्यो । कर्जाको मागमा देखिएको कमीसँगै बैंकहरुको पुँजीकोष दबाबका कारण कर्जा विस्तार अपेक्षा गरे अनुसार हुन सकेको छैन । त्यसले वित्तीय प्रणालीमा तरलता बढाई अन्तर बैंक दर घटाएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

राष्ट्र बैंकले यो साताको मंगलबार, बुधबार र बिहीबार गरेर बैंक तथा वित्तीय संस्थाबाट ६६ अर्ब ३० करोड रुपैयाँ निक्षेप लिएको छ । केन्द्रीय बैंकले विगतमा लिएको निक्षेप परिपक्व हुने हुँदा झनै तरलता बढ्ने भएपछि ब्याजदर बढाएर वित्तीय प्रणालीको तरलता खिचेको हो ।

केन्द्रीय बैंकले मंगलबार र बुधबार आफुले मागे जति निक्षेप बैंक तथा वित्तीय संस्थाबाट लिएको छ । तर, बिहीबार तरलताको अवस्था केही कसीलो भएपनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाए । बिहीबार २० अर्बको माग गर्दा बैंक तथा वित्तीय संस्थाले १७ अर्ब ४० करोड मात्रै निक्षेप दिन तयार भएका थिए । त्यसमा पनि केन्द्रीय बैंकले ब्याजदर केही बढाएर भएपनि १६ अर्ब ४० करोड रुपैयाँ निक्षेप लिएको छ ।

बिहीबार बैंक तथा वित्तीय संस्थाले न्यूनम ब्याजदर नै ३ प्रतिशतभन्दा माथि माग गरेका छन् । बैंकहरुले माग गरेको न्यूनतम ब्याजदर पनि यो वर्षकै उच्च हो । बिहीबार बैंक तथा वित्तीय संस्थाले न्यूनतम माग गरेको ब्याजदर ३.०५०० प्रतिशत रहेको छ । त्यसैगरी उक्त निक्षेप संकलनको अधिकतम ब्याजदर ३.३५०० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर ३.१८५३ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर यो वर्षकै उच्च हो । यसभन्दा अघि निक्षेप संकलनको औसत ब्याजदर ३.१४१९ प्रतिशतसम्म पुगेको थियो ।

केन्द्रीय बैंकले अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भएमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ । निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्दा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर दिनु पर्ने हुन्छ । ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन उपकरणको ब्याजदर नै हो । त्यसैले अन्तर बैंक दर निक्षेप संकलन दरभन्दा कम भएको अवस्थामा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो अन्तर बैंक दर २.९३ प्रतिशत रहेको छ । त्यसैगरी बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर ३.१८५३ प्रतिशत रहेको छ । बिहीबार निक्षेप संकलन उपकरणपछि अन्तर बैंक ब्याजदर पनि निश्चित रुपमा बढेको छ ।

पछिल्लो तीन दिनमा ६६ अर्ब भन्दा धेरै तरलता खिचेपछि केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थाको निक्षेप एक खर्ब आठ अर्ब पुगेको छ । केन्द्रीय बैंकमा पैसा थुप्रिएसँगै वित्तीय प्रणालीको तरलता अर्थात बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्न सक्ने पैसा ७२ अर्ब ५३ करोड रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments