‘फिक्स’ व्याजदर व्यवहारिक नहुँदा आकर्षण बढ्न सकेन, बैंकहरुको आ–आफनै गणना विधि

Note Bazar १०बैशाख, २०८१, सोमबार / Apr 22, 2024 19:20:pm

बैंक तथा वित्तीय संस्थाले कर्जाको 'फिक्स' ब्याजदर तोक्ने अभ्यास गरेको ४ वर्ष बितिसक्दा पनि प्रभावकारी हुन सकेको छैन । बैंक अनुसार ब्याजदर गणना विधि फरक हुनुका साथै अस्थिर ब्याजदरका कारण फिक्स ब्याजदर प्रभावकारी हुन नसकेको हो ।

बैंक तथा वित्तीय संस्थाले २०७६ सालदेखि फिक्स ब्याजदरमा कर्जा लगानी गर्ने योजना ल्याउन थालेका हुन । तर, वित्तीय प्रणालीको तरलतामा आउने उतारचढावका कारण ऋणीहरुले फिक्स भन्दा पनि ‘फ्लकचुएटिभ’ ब्याजदरलाई नै रोज्ने गरेका छन् । फिक्स भन्दा पनि वित्तीय प्रणालीको अवस्था अनुसार उतारचढाव हुने ब्याजदरमै फाइदा हुने देखेपछि फिक्स व्याजदर ऋणीहरुको रोजाइमा नपरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले पनि फिक्स ब्याजदर निर्धारण गर्दा विगतको ब्याजदरको अवस्थालाई विश्लेषण गरी भविष्यमा ब्याजदरमा आउन सक्ने उतारचढावले पार्ने जोखिमलाई समेत अनुमान गरेर तय गर्ने गरेका छन् । फिक्स ब्याजदर बैंक तथा ग्राहक दुबैका लागि जोखिपुर्ण हुने बैंकहरुको भनाई छ । ब्याजदर बढेको समयमा फिक्स ब्याजदमा कर्जा लिएको ऋणीलाई फाइदा हुन्छ भने घटेको समयमा घाटा हुन्छ । त्यसैले ऋणीले पनि ब्याजदर घटवढ भएको अवस्थामा पर्न सक्ने नोक्सानी विश्लेषण गर्नु पर्ने भएकाले पनि आकर्षण नबढेको हुन सक्ने उनीहरुको अनुमान छ ।

बैंकहरुले विगतको ब्याजदरलाई विश्लेषण गरेर ब्याजदर सम्बन्धी सम्भावित जोखिमलाई पुर्वानुमान गरेर फिक्स ब्याजदर निर्धारण गरिने एभरेष्ट बैंकका प्रमूख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । “यसमा ब्याजदर घट्दो अवस्थामा भयो भने बैंकलाई फाइदा भयो । बढ्दो अवस्थामा गयो भने ऋणीलाई फाइदा भयो,” खालिङले भने, “फिक्स ब्याजदरमा बैंक तथा ग्राहक दुबैले जोखिम लिनु पर्ने हुन्छ । दुबै पक्षले जोखिम विश्लेषण गर्नु पर्ने भएकाले पनि आकर्षण कम भएको हुन सक्छ ।”

विगतका वर्षमा ब्याजदरमा आएको अस्वभाविक उतारचढावलाई हेरेर ग्राहकले सिक्नु पर्ने खालिङको भनाइ छ । एभरेष्ट बैंकले नै पछिल्लो समयमा ७ वर्ष अवधिको घर कर्जामा साढे ९ प्रतिशतको ब्याजदर फिक्स गरेको छ । उक्त कर्जा योजनाका लागि समेत ग्राहकले खासै चासो नदेखाएको खालिङकको भनाई छ । “फिक्स ब्याजदर भन्ने वित्तिकै ग्राहकले हत्तपत्त लिन चाहदैनन्,” उनले भने, “ब्याजदर घटेको बेला अझै सस्तो हुन्छ भनेर कुर्ने अनि ब्याज बढ्न थालेपछि बढी भयो भन्छन् ।”

सुरु भएको ४ वर्षभन्दा धेरै भएपनि फिक्स ब्याजदरमा जाने कर्जाको अंश कुल कर्जामा निकै न्यून रहेको खलिङकको भनाई छ । उनका अनुसार कुल कर्जामा फिक्स ब्याजदरको कर्जाको अंश करिब एक प्रतिशत मात्रै छ । फिक्स रेट ब्याजदरमा आधारदर र प्रिमियमको कुनै भुमिका नहुने उनले जानकारी दिए ।

केन्द्रीय बैंकले फिक्स ब्याजदरमा पनि कर्जा दिनका लागि भनेको अवस्थाको बैंकहरुले पालना मात्रै गरेको अवस्था देखिएको बैंकिङ विज्ञ विएन घर्तीले बताए । “फिक्स ब्याजदरको विषयलाई केन्द्रीय बैंकले अभ्यसामा ल्याउन भनेपनि त्यसको प्रभावकारीताको विषयमा खासै खोज्ने गरेको देखिँदैन,” घर्तीले भने, “केन्द्रीय बैंकले चासो नदेखाएकाले पनि ग्राहकहरुले फिक्स ब्याजदरलाई नरोजेको हुन सक्छ ।”

बैंक तथा वित्तीय संस्थाबाट फिक्स ब्याजदरमा जाने कर्जा नियमित रिपोर्टिङ अन्तर्गत नपर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकास कुमार श्रेष्ठले बताए । “त्यसैले गर्दा छुट्टै तथ्याङक छैन,” श्रेष्ठले भने, “फिक्स रेटमा बैंकहरुले दिर्घकालिन जोखिम विश्लेषण गरेर ब्याजदर निर्धारण गर्ने हो,” उनले भने, “त्यसैले अहिलेको ब्याजदरको आधारमा भविष्यको जोखिम समेत जोडेर ब्याजदर निर्धारण गर्ने हो ।” फिक्स ब्याजदर तय गर्दा ब्याजदर गणना गर्ने विधि नतोकिएको पनि उनले बताए । त्यसैले रिस्क प्रिमियम सहित बैंकहरुले नै ब्याजदर निर्धारण गर्ने अभ्यास रहेको उनको भनाइ छ ।

केन्द्रीय बैंकले फिक्स ब्याजदरमा पनि कर्जा दिनु पर्ने व्यवस्था गर्यो । तर, ग्राहकलाई विश्वसनिय बातावरण तयार गर्नमा भने केन्द्रीय बैंकले भुमिका खेल्न सकेन । त्यसका साथै ब्याजदरमा आउने अस्वभाविक उतारचढावलाई नियन्त्रण गरी स्थायित्व कायम गर्न सकेको खण्डमा मात्रै फिक्स ब्याजदर प्रभाविकारी हुनेछ । त्यसका लागि केन्द्रीय बैंकले स्ट्याबल ब्याजदरका लागि काम गरेर फिक्स ब्याजदरको प्रयोगलाइ बढाउने तर्फ ध्यान दिनु पर्ने देखिन्छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments