पेचिलो बन्दै कर्जा नउठ्ने समस्या, बैंकहरुको ४० अर्ब नाफामा करिब आधा उठ्नै बाँकी

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
९बैशाख, २०८१, आईतवार / Apr 21, 2024 18:31:pm

अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकहरु विरुद्धको गलत प्रचारको असर कर्जा असुलीमा देखिन थालेको छ । बैंकहरुको कर्जा असुली प्रभावित हुँदा उठ्न बाँकी ब्याज पनि निरन्तर बढ्दै गएपछि समस्या जटिलता तर्फ उन्मूख देखिएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २० वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा देखाएका छन । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले थोरै हो । गत आवको सो अवधिमा बैंकहरुले ४७ अर्ब एक करोड रुपैयाँ खुद नाफा गरेको थिए ।

तर, बैंकहरुले देखाएको यो नाफा उठ्न बाँकी रहेको ब्याज रकमलाई समेत जेडेर हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरुको उठ्न बाँकी रहेको ब्याज मात्रै १७ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ छ। यो रकम बैंकहरुले देखाएको खुद नाफाको ४२ प्रतिशत हो । नेपाल वित्तीय लेखामान प्रतिवेदन (एनएफआरएस) अनुसार बैंकहरुले पाकेको ब्याजलाई आम्दानीमा देखाउन पाउछन । सो अनुसार बैंकहरुले उठि नसकेको तर पाकेको ब्याजलाई आम्दानीमा देखाएको हुनाले खुद नाफा ४० अर्ब ६८ करोड पुगेको हो ।

चालु आवको चैतसम्ममा बैंकहरुले पाएको ब्याजको आधारमा भएको खुद नाफा भो २३ अर्ब ३६ करोड मात्र हो । बैंकहरुले उठ्न बाँकी ब्याजलाई आम्दानीमा देखाएको भएपनि सो रकमका आधारमा सेयरधनीलाई लाभांश वितरण गर्न भने पाउदैनन् ।

बैंकहरुको आम्दानीको मूख्य स्रोत ब्याज हो । तर, बैंकहरुले फि कमिसन, ट्रेडिङ तथा अन्य शिर्षकमा पनि आम्दानी गर्छन । तर, यस्ता आम्दानीको हिस्सा निकै न्यून हुने गरेको छ । बैंकहरुले धितोपत्र बजारमा कारोबार गर्दा ट्रेडिङ इनकममा उच्च सुधार आएको थियो । केही वर्ष देखि केन्द्रीय बैंकले सेयर बजारमा कारोबार गर्न कडाइ गरेसंगै उक्त शिर्षकमा हुने आम्दानीमा उच्च कमी आएको छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंकहरुको फि कमिसन आम्दानी १५.७४, ट्रेडिङ इनकम ८.२५ र अन्य आम्दानी १९.४९ प्रतिशतले बढेको छ । बैंकहरुको ब्याज नउठ्ने र ब्याज खर्च उच्च भएकाले ती शिर्षकबाट भएको आम्दानीले थेग्ने कुरै भएन ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण ब्याजदर घटेपनि कर्जाको माग बढ्न नसकेपछि आम्दानी प्रभावित हुनु स्वभाविक रहेको एक बैंकरले बताए । “तर, बैंकहरु विरुद्ध गलत प्रचार प्रसार गर्ने र कर्जा तिर्दिन भन्ने समु्हका कारण समस्या बढदै गएको हो,” ती बैंकरले भने,“बैंकिङ क्षेत्रका लागि आगामी दिन सहज देखिदैन ।” वित्तीय प्रणालीमा बढदो जोखिम नियन्त्रणका लागि सबै गम्भिर हुनुपर्ने समय आएको ती बैंकरको भनाई छ । कर्जा लगेर तिर्दिन भन्ने, धितो सकार गरेर कर्जा असुली गर्न खोज्दा राज्य कै निकायले बैंकलाई असहयोग गर्ने लगायतका क्रियाकलापलाई तत्काल निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तथ्याङकलाई आधार मान्दा बैंकिङ क्षेत्र झनै जटिल अवस्थामा पुगेको उनको बुझाइ छ ।

चालु आवको पुससम्मको तुलनामा चैतमसान्तसम्ममा १२ बैंकहरुको उठ्न बाँकी ब्याज बढेको छ । प्रभु बैंकको भने उठ्न बाँकी रहेको ९४ करोड ७० लाख रुपैयाँ उठेको छ । तथ्याङकमा प्रभु बैंकको बक्यौता व्याज उठेको माइनस संकेत दिइएको छ । अन्य तथ्याङकमा त्यसलाइ घटाउन पर्ने भएकाले माइनस संकेत दिइएको हो ।) त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ब्याज बक्यौता छैन भने ६ वटा बैंकको उठ्न बाँकी ब्याज पुसमसान्तसम्मको तुलनामा घटेको छ ।

बैंकहरुको उठ्न बाँकी ब्याजका कारण वितरण योग्य नाफा समेत घटेको छ । चालु आवको तेस्रो त्रैमासमा बैंकहरुको वितरण योग्य नाफा ७ अर्ब ७६ करोडले नकारात्मक छ । यो नाफा गत आवको चैतको तुलनामा १४४ प्रीतशतले कम हो । गत आवको सो अवधिमा बैंकहरुको वितरण योग्य नाफा १७ अर्ब ५२ करोड रुपैयाँ थियो । गत आवको चैतसम्ममा ४ बैंकको वितरणयोग्य नाफा नकारात्मक रहेको थियो । चालु आवको सो अवधिमा भने वितरण योग्य नाफा नकारात्मक हुनेको संख्या १० पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याज उठ्न बाँकी छ । सो अवधिमा बैंकको उठ्न बाँकी ब्याज २ अर्ब ४५ करोड २८ लाख रुपैयाँ ब्याज उठ्न बाँकी छ । त्यसैगरी हिमालयन बैंकको २ अर्ब १६ करोड, ग्लोबल आइएमई बैंकको एक अर्ब ८१ करोड, लक्ष्मी सनराइज बैंकको एक अर्ब ६१ करोड, कुमारी बैंकको एक अर्ब ५१ करोड रुपैयाँ ब्याज उठ्न बाँकी छ । चालु आवको सो अवधिमा सबैभन्दा थोरै उठ्न बाँकी ब्याज नेपाल एसबीआई बैंकको रहेको छ । सो अवधिमा बैंकको उठ्न बाँकी ब्याज २२ करोड ९९ लाख रुपैयाँ छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments